अमेरिका–इरान वार्तामा युद्धविराम र परमाणु छलफल अघि बढाउने तयारी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिका र इरानबीच जारी तनाव कम गर्न ६० दिनसम्म युद्धविराम थप गर्ने र सोही अवधिमा परमाणु वार्ता सुरु गर्नेगरी नयाँ सम्झौताको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सम्झौताको मस्यौदाअनुसार अमेरिका र इजरायलले इरान तथा उसका सहयोगी समूहहरूमाथि आक्रमण नगर्ने सहमति गर्न सक्ने उल्लेख छ। यसको बदलामा इरानले पनि अमेरिका र इजरायलमाथि कुनै आक्रमण नगर्ने व्यवस्था रहने बताइएको छ।
अमेरिकी अनलाइन एक्सियोसका अनुसार इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने विषय पनि उक्त समझदारीमा समेटिएको छ। तर यदि हिजबुल्लाहले पुनः आक्रमण गरेमा इजरायलले जवाफी कारबाही गर्न सक्ने प्रावधान रहनेछ।
यसैबीच, इरानी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले इरान तत्कालै आफ्नो युरेनियम भण्डारण अमेरिका वा अन्य पक्षलाई बुझाउन तयार नभएको जनाएको छ। उनका अनुसार परमाणु कार्यक्रम सम्बन्धी विषय हालको प्रारम्भिक सम्झौतामा समावेश गरिएको छैन।
यसअघि केही अमेरिकी सञ्चारमाध्यमले इरान युरेनियम हस्तान्तरण गर्न तयार भएको दाबी गरे पनि इरानी पक्षले त्यसलाई अस्वीकार गरेको छ।







