बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले बाजुरा र हुम्ला जिल्लाबीचको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।
समितिले विवादित क्षेत्रको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, भूमि मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरू रहनेछन्।
नापी विभागका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ। सरकारले यो समितिले तयार गर्ने प्रतिवेदनका आधारमा सीमा विवाद समाधानका थप प्रक्रिया अघि बढाइने जनाएको छ।







