रास्वपाले सार्वजनिक गर्यो पहिलो महाधिवेशनको कार्यतालिका
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि तयारी सुरु गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले महाधिवेशनलाई व्यवस्थित बनाउन सबै काम समयमै सक्ने गरी मिति तोकेको जनाएको छ।
निर्वाचन आयोगको निर्णयअनुसार देशभरका ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यो काम जेठ १५ गतेभित्र सक्नुपर्नेछ। त्यसको जानकारी र कागजात जेठ १० गतेभित्र केन्द्रमा बुझाउनुपर्नेछ। त्यसैगरी जिल्ला र स्थानीय तहमा भएका अधिवेशनका रिपोर्ट जेठ २० गतेभित्र संकलन गरिनेछ।
महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको सूची जेठ २५ गतेसम्म तयार पार्नुपर्नेछ। जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र आफ्नो जिल्लाको अधिवेशन र निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ। पार्टीले महाधिवेशनलाई आधुनिक बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी पनि गरेको छ।
असार ५ गतेभित्र प्रदेश तहका पदाधिकारीहरूको विवरण र अन्य आवश्यक प्रक्रिया पूरा गर्ने योजना पनि बनाइएको छ। पार्टीले सबै प्रदेश र जिल्ला नेतृत्वलाई समयमै काम पूरा गर्न निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले यो महाधिवेशनलाई संगठन विस्तार र आन्तरिक सुधारको महत्वपूर्ण चरणका रूपमा लिएको छ।








