कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द, हिमाली युवा क्लबको घोषणा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । हिमाली युवा क्लब, बाजुराले कर्णाली करिडोरमा अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। क्लबले जेठ १० गते दिउँसो १ बजेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।
क्लबले आइतबार ज्ञापनपत्र बुझाउँदै हुम्ला–बाजुरा सीमा विवादसँग सम्बन्धित समस्या पटक–पटक सरोकारवाला निकायसँग छलफल र सहमति भए पनि कार्यान्वयन नभएको आरोप लगाएको छ। सोही कारण बाध्य भएर बन्दको निर्णय लिनुपरेको क्लबको भनाइ छ।
ज्ञापनपत्रमा हालै हिमाली गाउँपालिका–३ मा भएको घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। त्यस्तै, केही दिनअघि भएको घटनापछि हुम्ला जिल्ला का केही स्थानीयले वडासदस्यको घरमा तोडफोड र लुटपाट गरेको घटनाप्रति समेत सम्बन्धित निकाय गम्भीर नभएको क्लबले आरोप लगाएको छ।
क्लबले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही, घाइते तथा पीडित परिवारका लागि उपचार र राहत व्यवस्था, साथै क्षतिग्रस्त घर तथा सम्पत्तिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।
त्यसैगरी स्थानीय सुरक्षा व्यवस्था मजबुत बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ। क्लबले उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, र जिल्ला प्रशासन कार्यालय बाजुरा तथा हुम्लामा समेत बोधार्थ दिएको जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा देखिएको विवाद र सुरक्षा चुनौती पुनः सतहमा ल्याएको छ।







