नेविसंघको धर्ना, कांग्रेस नेतृत्वसँग महाधिवेशन माग
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले पार्टी एकताबद्ध बनाउन र समयमै महाधिवेशन घोषणा गर्न माग गरेका छन्।
आइतबार भएको धर्नामा सहभागी विद्यार्थीहरूले पार्टी कार्यालयमा प्लेकार्ड टाँसेर विरोध जनाएका थिए। उनीहरूले “पार्टी युनिटी फर्स्ट” र “१२औँ महाधिवेशन सुनिश्चित गर” जस्ता नारा लगाएका थिए।
विद्यार्थी नेताहरूले पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई अन्त्य गर्न नेतृत्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। उनीहरूले नेविसंघलाई सक्रिय बनाउन ढिलो नगरी महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।
नेविसंघका कार्यकर्ताहरूले युवालाई नेतृत्वमा ल्याउनुपर्ने र संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्।







