पाकिस्तानको क्वेटामा रेल विस्फोट, कम्तीमा २० जनाको मृत्यु
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक आइतबार रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। विस्फोटका कारण यात्रुवाहक रेलका डिब्बा पटरीबाट खसेका थिए।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि इन्जिनसहित तीन वटा डिब्बा रेलमार्गबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। घटनापछि क्षेत्रमा अफरातफरीको अवस्था सिर्जना भएको थियो।
प्रत्यक्षदर्शीहरूले विस्फोट निकै शक्तिशाली रहेको बताएका छन्। उनीहरूका अनुसार ट्र्याक नजिक पार्क गरिएका सवारी साधनमा क्षति पुगेको छ भने आसपासका केही घरहरूमा पनि असर परेको छ।
घटनालगत्तै सेना, प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। अधिकारीहरूले हालसम्म विस्फोटको कारणबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।
मुहम्मद हनिफ अब्बासीले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गरिने बताएका छन्। रेलवे प्रशासनले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।







