बारामा विवादबीच रास्वपाको अधिवेशन प्रक्रिया पुनः सुरु
Prime TV News २ दिन अगाडि 
बारा । राष्ट्रिय स्वतन्त्र पार्टीले बारामा उत्पन्न विवादका बीच जिल्ला अधिवेशनको प्रक्रिया पुनः अघि बढाएको जनाएको छ। शनिबार कलैयामा आयोजित विस्तारित बैठकमा दुई समूहबीच विवाद भएपछि केही समय कार्यक्रम तनावग्रस्त बनेको थियो।
पार्टीका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई केही दिनअघि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि उनका समर्थकहरूले असन्तुष्टि जनाउँदै आएका थिए। उनीहरूले अधिवेशनअघि योजनाबद्ध रूपमा आफूहरूलाई पार्टीबाट हटाइएको आरोप लगाएका छन्।
विस्तारित बैठकमा विवाद चर्किएपछि बाराबाट निर्वाचित सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द साह स्थिति नियन्त्रणका लागि त्यहाँ पुगेका थिए। तर, बैठककक्षभित्र होहल्ला बढेपछि सुरक्षाका कारण प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा लगेको थियो।
सांसद गणेश धिमालले बैठकपछि अधिवेशन प्रक्रिया अघि बढिसकेको बताएका छन्। उनका अनुसार वडा, पालिका र जिल्ला तहको संगठन निर्माणका काम जारी रहेका छन्। उनले जिल्ला कार्यसमितिमा आकांक्षीको संख्या धेरै भएकाले यस्ता विवादलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राखे।
रास्वपाले आगामी असार ७, ८ र ९ गते केन्द्रीय महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। त्यसका लागि देशभर संगठन विस्तार र अधिवेशन कार्यक्रम सञ्चालन भइरहेका छन्। पार्टीको कार्यतालिकाअनुसार जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।
त्यसपछि प्रदेश अधिवेशनको श्रृंखला सुरु हुनेछ। जेठ २६ गते वाग्मती प्रदेश बाट सुरु हुने अधिवेशन क्रमशः कोसी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश मा आयोजना गरिने कार्यक्रम तय गरिएको छ।







