देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाएको छ । विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्म सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको हो ।
विभागका अनुसार सडकमा सवारी साधनको अत्यधिक चाप, बढ्दो ट्राफिक जाम तथा वायु प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको हो । सार्वजनिक यातायात क्षेत्रको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यातायात प्रणाली अव्यवस्थित बन्दै गएको निष्कर्षसहित नयाँ दर्ता रोकिएको विभागले जनाएको छ ।
हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै विभागले नयाँ सवारी थप्दा समस्या झन् जटिल बन्न सक्ने उल्लेख गरेको छ । इन्धनको लगातार बढ्दो मूल्यले यातायात क्षेत्रमा थप चुनौती सिर्जना गरेको भन्दै विद्यमान प्रणाली सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ । ऐनको दफा २४ उपदफा (३) मा वातावरण संरक्षण, सडकको अवस्था, सवारी चाप तथा सार्वजनिक हितलाई ध्यानमा राखेर सवारी दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको छ ।
नयाँ निर्णय विद्युतिय सार्वजनिक सवारी साधनमा पनि लागू हुने स्पष्ट पारिएको छ । यससँगै अब देशभर ईभी सार्वजनिक सवारीको समेत नयाँ दर्ता प्रक्रिया स्थगित भएको छ । सरकारको यो कदमले सार्वजनिक यातायात व्यवसायी, लगानीकर्ता तथा सेवा विस्तार योजनामा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । यातायात क्षेत्रका सरोकारवालाले भने दीर्घकालीन व्यवस्थापन योजना बिना दर्ता रोक्का मात्र समाधान नहुने बताएका छन् ।







