नेपालले आज अमेरिका विरुद्ध महत्त्वपूर्ण प्रतिस्पर्धा गर्दै
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिका विरुद्ध महत्त्वपूर्ण प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने यो नेपालका लागि अन्तिम खेल हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
घरेलु समर्थकमाझ खेल्न लागेको नेपाल अघिल्लो खेलको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ । नेपालले पछिल्लो भेटमा अमेरिकालाई ९ विकेटले पराजित गर्दै आत्मविश्वासपूर्ण जित निकालेको थियो । त्यस खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले केवल एक विकेट गुमाएर पूरा गरेको थियो ।
आजको खेल नेपालका लागि निकै निर्णायक मानिएको छ । विश्वकप छनोटको सम्भावना कायम राख्न तथा एकदिवसीय मान्यता सुरक्षित गर्न नेपाललाई अबका खेलमा जित आवश्यक छ । समान २७ खेल खेलेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा छ भने अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
अमेरिका भने अघिल्लो हारको बदला लिने योजनासहित मैदान उत्रँदैछ । लगातार राम्रो प्रदर्शन गर्दै आएको अमेरिकी टोली शीर्ष स्थान जोगाउने लक्ष्यमा रहेको छ । नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा मिश्रित नतिजा निकालेको छ ।
स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा भने शानदार पुनरागमन गर्दै स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो । त्यसपछि अमेरिकाविरुद्धको प्रभावशाली जितले नेपाली टोलीको मनोबल थप उच्च बनाएको छ ।
आजको खेलमा नेपालको स्पिन आक्रमण, घरेलु मैदानको अनुभव र समर्थकको साथ निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ । क्रिकेट समर्थकहरू भने नेपालले घरेलु शृङ्खलाको अन्तिम खेल सुखद् बनाउने विश्वासमा छन् ।







