एमालेले विभागीय जिम्मेवारी बाँडफाँट गर्ने तयारी, नेताहरूको नाम प्रस्ताव
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टीभित्र विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विभाग प्रमुख र इन्चार्जहरूको नाम प्रस्ताव गरेका छन्।
प्रस्तावअनुसार विदेश मामिला विभाग प्रमुखमा प्रदीप ज्ञवाली, संसदीय मामिला विभाग प्रमुखमा पद्मा अर्याल र राष्ट्रिय हित संरक्षण विभाग प्रमुखमा हिक्मत कार्कीको नाम अघि सारिएको छ। त्यस्तै, संगठन विभाग प्रमुखमा भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सूर्य पाठक र पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ को नाम प्रस्ताव गरिएको छ।
अन्य विभागहरूमा पनि विभिन्न नेताहरूको नाम प्रस्ताव गरिएको छ। यसमा युवा तथा खेलकुद, उद्योग, कानुन, संघीय मामिला, भूमि व्यवस्था लगायतका विभागहरू समेटिएका छन्। पार्टी स्रोतका अनुसार प्रस्तावित नामहरू आगामी शुक्रबार बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ। त्यसपछि विभागीय जिम्मेवारी औपचारिक रूपमा टुंगो लाग्नेछ।







