प्रश्नोत्तरका लागि संसद आउन प्रधानमन्त्री बालेनको अस्वीकार, विपक्षी आक्रोशित

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रश्नोत्तरका लागि संसद आउन प्रधानमन्त्री बालेनको अस्वीकार, विपक्षी आक्रोशित

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा प्रश्नोत्तरका लागि उपस्थित हुन सभामुखले गरेको आग्रह अस्वीकार गरेका छन्। यसपछि विपक्षी दलहरूले संसदमा विरोधलाई अझ तीव्र बनाउने संकेत दिएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयन गर्न विपक्षी दलहरूले संसदमा लगातार दबाब दिँदै आएका छन्।

बिहीबार संसद् बैठक अवरुद्ध भएपछि सभामुख डिपी अर्याल प्रधानमन्त्रीसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। सभामुखले अर्को साताको कुनै दिन संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तर प्रधानमन्त्री शाहले आगामी साता समय दिन नसक्ने बताएका स्रोतले जनाएको छ। उनले “उपयुक्त समयमा” संसदमा आएर जवाफ दिने बताएको जानकारी सभामुखले पछि कार्यव्यवस्था परामर्श समितिमा दिएका थिए।

तर विपक्षी दलहरूले “उपयुक्त समय” भन्ने अस्पष्ट जवाफ स्वीकार्य नभएको बताएका छन्। प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने र नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने उनीहरूको अडान छ।

प्रधानमन्त्री संसदमा उपस्थित हुन नमानेपछि विपक्षी दलहरूले बैठकमा विरोध जारी राख्ने बताएका छन्। विपक्षी सांसदहरूले सरकार संसद्प्रति गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन्।