सेयर बजारमा दोहोरो दबाब, नेप्से फेरि घट्यो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली सेयर बजारमा बिहीबार पनि गिरावट कायम रह्यो। लगातार दोस्रो दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २ हजार ७४२.११ विन्दुमा बन्द भएको छ।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयरमूल्य घटेको देखिएको छ। कारोबारमा आएका ३४८ कम्पनीमध्ये १८८ कम्पनीको सेयरमूल्य घट्दा ७२ कम्पनीको मात्रै मूल्य बढेको छ। दिनभरिमा ८९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
बजारमा कारोबार रकम सामान्य रूपमा बढे पनि लगानीकर्ताको उत्साह भने कमजोर देखिएको विश्लेषण गरिएको छ। समूहगत रूपमा हेर्दा म्युचुअल फण्ड बाहेक सबै उपसमूहमा दबाब देखिएको छ। होटल तथा पर्यटन समूह सबैभन्दा बढी प्रभावित बनेको छ। उक्त समूहको परिसूचक ०.८६ प्रतिशतले घटेको छ।
कारोबारका क्रममा प्रभु बैंक को डिबेञ्चर, बुङगल हाइड्रो र लक्ष्मी बैंक को डिबेञ्चरमा लगानी गर्नेहरूले उल्लेखनीय कमाइ गरेका छन्। यता अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, झापा इनर्जी तथा माउण्टेन हाइड्रो नेपाल का लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। विश्लेषकहरूका अनुसार बजारमा देखिएको अनिश्चितता, लगानीकर्ताको पर्ख–हेरको अवस्था र सीमित तरलताले नेप्सेमा दबाब कायम रहेको छ।







