आकस्मिक समयलाई व्यवस्थित बनाइने, कार्यव्यवस्था समितिमा छलफल हुने सभामुखको भनाइ

User Image Prime TV News ५ दिन अगाडि
Image of आकस्मिक समयलाई व्यवस्थित बनाइने, कार्यव्यवस्था समितिमा छलफल हुने सभामुखको भनाइ

काठमाडौ । प्रतिनिधिसभामा आकस्मिक समयको प्रयोगलाई थप व्यवस्थित बनाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी आवश्यक सुधार गरिने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय सकिएको घोषणा गरिएपछि शून्य समय सुरु गर्ने तयारी भएको थियो। तर सोही क्रममा केही सांसदहरू बोल्नका लागि उठेपछि बैठकमा केही समय असहज अवस्था सिर्जना भएको थियो।

यस क्रममा सांसदहरू राजेन्द्रकुमार राई लगायतका सदस्यहरूले आसनबाट उठेर धारणा राख्न माग गरेपछि सभामुखले नियमअनुसार बस्न आग्रह गरेका थिए। लगातार उठ्ने र बोल्न खोज्ने अवस्था देखिएपछि सभामुखले तोकिएको समयभन्दा केही थप सांसदलाई बोल्ने अवसर दिएका थिए।

सभामुख अर्यालले आकस्मिक समयको उद्देश्य अघिल्लो बैठकदेखि हालसम्मका जनजीवनमा असर पार्ने महत्वपूर्ण विषयहरू उठाउने रहेको स्पष्ट पारे। उनले विषयको संवेदनशीलता र प्राथमिकताका आधारमा सभामुखले समय दिने वा नदिने अधिकार प्रयोग गर्न सक्ने पनि बताए।

संसदमा आकस्मिक समय, शून्य समय र विशेष समयमार्फत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने संसदीय अभ्यास रहेको छ। आगामी दिनमा यी समयहरूको प्रभावकारी उपयोग सुनिश्चित गर्न कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्।