हर्क साम्पाङद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग, संसदमा प्रश्नको जवाफ नआएको आरोप

User Image Prime TV News ५ दिन अगाडि
Image of हर्क साम्पाङद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग, संसदमा प्रश्नको जवाफ नआएको आरोप

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्री शाहले सांसदका प्रश्नहरूको जवाफ नदिएको आरोप लगाउँदै पदमा बसिरहन उपयुक्त नभएको टिप्पणी गरे। उनले भने, “यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ।”

बैठक सुरु हुनेबित्तिकै उनले अघिल्ला दिनझैँ प्लेकार्ड प्रदर्शन गरेका थिए। त्यसपछि सभामुख डीपी अर्याल ले उनलाई दुई मिनेट बोल्न समय दिएका थिए। बोल्ने क्रममा राईले प्रधानमन्त्री शाह सांसद भए पनि संसद् नियमावलीअनुसार सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने दायित्व रहेको बताए।

उनले गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग सम्बन्धित आफ्ना प्रश्नहरूको जवाफ नआएको गुनासो गरे, जुन हाल प्रधानमन्त्री मातहत रहेको दाबीसमेत गरे। राईका अनुसार उनले २०८३ साल वैशाख २८ र २९ गते सीमा समस्या, विशेषगरी लिपुलेकसँग सम्बन्धित प्रश्न उठाएका थिए। तर नियमअनुसार सात दिनभित्र जवाफ दिनुपर्ने भए पनि करिब १० दिन बितिसक्दा पनि कुनै उत्तर नआएको उनले बताए।

उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै भने, “उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन?” राईले संसद्को गरिमा र लोकतान्त्रिक अभ्यास जोगाउन सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आवश्यकता रहेको पनि जोड दिए।