आँखा शिविरमा निःशुल्क औषधि तथा मोतिविन्दूको शल्यक्रिया
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा अस्पतालको सहकार्यमा दुईदिने बृहत आँखा शिविरमा निःशुल्क औषधि, चस्मा तथा मोतिविन्दूको पहिचान गरिएको छ ।
नगर अस्पतालमा आयोजना भएको शिविरमा आँखाको चेकचाँज, आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण र मोतिविन्दूका समस्या भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गर्ने योजना रहेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले नगरवासीहरुका लागि आँखा शिविर मात्र नभइ अन्य स्वास्थ्य सेवामा समेत पहुँच बृद्धि गर्ने योजनाअनुसार निरन्तर विभिन्न स्वास्थ्य सेवा दिइरहेको बताए । उनले भने, ‘मानिसको निम्ति सबैभन्दा महत्वपूर्ण अंग आँखा हो, आँखामा समस्या भयो भने जीवन नै कष्टकर हुने भएकाले नगरपालिका भित्र आँखा रोगसँग सम्बन्धित समस्या पहिचान गर्न पनि यो शिविर महत्वपूर्ण हुन्छ । यस नगरपालिकाका नागरिको स्वास्थ्यमा पहुँच बृद्धि गर्न पनि हामीले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएका छौं ।’
नगरवासीको स्वास्थ्य सरोकारमा नगरपालिकाले यसअघि पनि विशेष प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आँखा शिविरले यस क्षेत्रका नागरिकको आँखा जन्य समस्याको पहिचान गर्न सहयोग पुग्ने बताए । उनले नगरवासीको स्वास्थ्य सरोकारका बिषयमा नगरपालिका सदैव सचेत रहेको बताए ।







