प्रतिनिधिसभामा मर्यादा र सभामुखको भूमिकाबारे विवाद, कांग्रेस सचेतकले गरे आलोचना
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको पछिल्लो बैठकमा सदनको मर्यादा र संसदीय अभ्यासबारे पुनः बहस चर्किएको छ। नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखले सदनको गरिमा कायम राख्न प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका छन्।
विशेष समयमा बोल्दै उनले सदनभित्र देखिएका पछिल्ला गतिविधिहरूलाई लिएर असन्तुष्टि व्यक्त गरे। उनका अनुसार प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले निलो स्कार्फ लगाउने र प्लेकार्ड प्रदर्शन गर्ने जस्ता गतिविधिहरूले संसदीय मर्यादा उल्लंघन भएको बहस उठाएको छ।
राईले अघिल्ला घटनासँग तुलना गर्दै कुनै पक्षको व्यवहारलाई मात्र लक्षित गरेर अमर्यादित भन्ने प्रवृत्ति गलत हुने बताए। उनले भने, “आफैँले गरेको कदम संसदीय र मर्यादित, अहिले प्रतिपक्षीले देखाएको प्लेकार्ड कसरी अमर्यादित?”
उनले सभाको अनुशासन कायम राख्ने प्रमुख जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै अहिलेको अवस्थाप्रति प्रश्न उठाए। उनका अनुसार सदनभित्र देखिएका गतिविधिहरू नियन्त्रण गर्न र निष्पक्ष रूपमा नियम लागू गर्न सभामुखको भूमिकामा कमजोरी देखिएको छ।
सदनमा देखिएको यस्तो विवादले संसदीय अभ्यास र अभिव्यक्तिको सीमाबारे फेरि एकपटक राजनीतिक बहसलाई तीव्र बनाएको छ।







