इरान विरुद्धको अपरेसनमा अमेरिकी हवाई क्षति भएको रिपोर्ट सार्वजनिक
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । इरानविरुद्ध गरिएको भनिएको ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको दाबी सार्वजनिक भएको छ।
अमेरिकी कङ्ग्रेस सम्बन्धी एक रिपोर्टलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय माध्यमले यस अपरेसनमा ४२ वटा सैन्य विमान तथा ड्रोन नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त भएको उल्लेख गरेका छन्। रिपोर्टअनुसार ६ वटा लडाकु तथा आक्रमण विमानमा क्षति पुगेको दाबी गरिएको छ। तीमध्ये एउटा एफ–३५, चार एफ–१५ई स्ट्राइक इगल र एउटा ए–१० थन्डरबोल्ट–२ रहेको उल्लेख छ।
सबैभन्दा ठूलो क्षति ड्रोनमा भएको बताइएको छ। विवरणअनुसार २४ एमक्यू–९ रिपर र एक एमक्यू–४सी ट्राइटनसहित कुल २५ ड्रोन नष्ट भएका छन्। साथै थप ११ अन्य विमान पनि क्षतिग्रस्त भएको दाबी गरिएको छ।
यसैबीच, न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा अमेरिका र इजरायलले इरानमाथि गरेको कारबाही केवल सैन्य क्षमतामा असर पुर्याउन मात्र नभई अन्य रणनीतिक उद्देश्यसमेत रहेको उल्लेख गरिएको छ। तर सार्वजनिक भएका यी विवरणहरू स्वतन्त्र रूपमा पूर्ण पुष्टि भइसकेका छैनन्। सम्बन्धित पक्षहरूले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।







