संसदीय समितिहरूमा बजेट र भूमिहीन समस्या प्रमुख एजेन्डा

User Image Prime TV News ५ दिन अगाडि
Image of संसदीय समितिहरूमा बजेट र भूमिहीन समस्या प्रमुख एजेन्डा

काठमाडौ । संघीय संसद्का विभिन्न समितिहरूमा आगामी आर्थिक वर्षको बजेट र भूमिहीन नागरिकको समस्या समाधानका विषयमा केन्द्रित छलफल हुने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका प्राथमिकता र नीतिगत विषयबारे विज्ञहरूसँग परामर्श गर्ने भएको छ।

समितिको बैठकमा अर्थविद् तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले मुलुकको आर्थिक अवस्था, चुनौती र सुधार आवश्यक क्षेत्रबारे सुझाव प्रस्तुत गर्नेछन्। बजेट निर्माणको तयारीका क्रममा सरोकारवालासँगको छलफललाई तीव्र बनाइएको समितिले जनाएको छ।

यसैबीच राष्ट्रिय सभा अन्तर्गतका दुई समितिहरूमा भूमिहीन नागरिकको व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यस विषयमा विस्तृत समीक्षा गरिनेछ।

समितिहरूले भूमिहीन नागरिकलाई राखिएका अस्थायी ‘होल्डिङ सेन्टर’हरूको अनुगमन प्रतिवेदन, त्यहाँको अवस्था तथा समस्याबारे जानकारी लिने कार्यसूची तय गरेका छन्। बैठकमा होल्डिङ सेन्टरहरूको प्रभावकारिता, नागरिकको जीवनयापन अवस्था र दीर्घकालीन समाधानका उपायबारे पनि छलफल हुने बताइएको छ।