सुधन गुरुङमाथि छानबिन सुरु, विभिन्न निकायसँग विवरण माग
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । पूर्वगृहमन्त्री सुदन गुरुङ सम्बन्धी विवादको छानबिन गर्न बनेको समितिले विभिन्न सरकारी कार्यालय र बैंकसँग विवरण मागेको छ । समितिको पहिलो बैठकले सुरुमा कागजात र विवरण संकलन गर्ने निर्णय गरेको हो । त्यसपछि गुरुङलाई बोलाएर सोधपुछ गरिने बताइएको छ ।
समितिले धितोपत्र बोर्ड, मालपोत कार्यालय र बैंकहरूलाई पत्र पठाएर सेयर, जग्गा र बैंकिङ कारोबारसम्बन्धी जानकारी मागेको छ । आवश्यक परे अन्य कार्यालयसँग पनि विवरण मागिने जनाइएको छ ।
गुरुङ मन्त्री भएपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई लिएर विवाद सुरु भएको थियो । उनीसँग कानुनले तोकेको भन्दा बढी जग्गा रहेको र अस्वाभाविक सम्पत्ति जोडिएको आरोप लागेको थियो । त्यसपछि विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गुरुङको सेयर रहेको खुलेपछि उनी थप विवादमा परेका थिए । भट्टमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विवाद बढेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । अहिले गृह मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा रहेको छ ।







