कोलकाताको शानदार जित, मुम्बई चार विकेटले पराजित

User Image Prime TV News ५ दिन अगाडि
Image of कोलकाताको शानदार जित, मुम्बई चार विकेटले पराजित

काठमाडौ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा कोलकाता नाइट्स राइडर्सले मुम्बई इन्डियन्स माथि चार विकेटको रोमाञ्चक जित निकालेको छ ।

इडेन गार्डेन्समा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । टोलीको जितमा मनिष पाण्डेले ४५ रनको महत्वपूर्ण इनिङ खेले भने रोभमन पावेलले अविजित ४० रन बनाए । कप्तान अजिंक्य रहाणेले २१ रन जोड्दा तेजस्वी धानियाले ११ रनको योगदान दिए ।

मुम्बईका लागि केर्बिन बोसले तीन विकेट लिए । दीपक चाहर, जसप्रित बुमराह र अल्लाह गजान्फरले समान एक–एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । मुम्बईका लागि केर्बिन बोसले सर्वाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्ड्याले २६ रन जोडे ।

तिलक वर्माले २० रन बनाउँदा रोहित शर्मा र सूर्यकुमार यादवले समान १५ रन बनाए । विल ज्याक्सले १४ रनको योगदान दिए । कोलकाताका बलर सौरभ दुबे, क्यामरुन ग्रिन र कार्तिक त्यागीले समान दुई विकेट लिए भने सुनील नारायणले एक विकेट हात पारे ।

यस जितसँगै कोलकाताले १३ खेलबाट १३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । टोलीको प्लेअफ सम्भावना अझै कायम रहेको छ । पराजित मुम्बई भने १३ खेलबाट ८ अंकसहित नवौं स्थानमा रहेको छ ।