देशभर पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
Prime TV News ५ दिन अगाडि काठमाडौ । देशमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसमविद्ले बताएका छन्। यसको असरका कारण देशका पहाडी र हिमाली क्षेत्रमा बदली बढेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आज दिनभर साधारणतया बदली रहने सम्भावना छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका धेरै स्थानमा मौसम खुला रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाएको छ। बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको मौसमविद्ले उल्लेख गरेका छन्।
यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा तातो दिनको अवस्था रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।







