अमेरिकी सिनेटले ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव पारित

User Image Prime TV News ५ दिन अगाडि
Image of अमेरिकी सिनेटले ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव पारित

काठमाडौ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ। मतदानमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्र्याट्सको समर्थन गरेका थिए।

प्रस्ताव ५०–४७ मतले पारित भएको हो। प्रस्तावलाई कानुन बन्न अझै प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) बाट अनुमोदन आवश्यक पर्नेछ। त्यसपछि पनि राष्ट्रपति ट्रम्पले यसमा ‘भिटो’ प्रयोग गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

यदि यो प्रस्ताव अन्ततः कानुन बनेमा ट्रम्प प्रशासनले इरानविरुद्ध कुनै दीर्घकालीन सैन्य कारबाही अघि बढाउनुअघि अमेरिकी कङ्ग्रेसको अनुमति लिनुपर्नेछ। प्रस्तावका समर्थकहरूले अमेरिकी संविधानअनुसार युद्ध सुरु गर्ने अधिकार कङ्ग्रेससँग रहेको बताएका छन्।

प्रस्ताव प्रस्तुत गर्ने भर्जिनियाका डेमोक्र्याट सिनेटरहरुले राष्ट्रपति प्रशासनले सैन्य रणनीतिबारे संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्। यता ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षाको हितलाई ध्यानमा राख्दै आफ्नो संवैधानिक अधिकारभित्र रहेर कारबाही गरेको जनाएको छ।

अमेरिकी कानुनअनुसार कुनै पनि राष्ट्रपतिले कङ्ग्रेसको स्वीकृतिबिना सीमित अवधिसम्म मात्र सैन्य कारबाही सञ्चालन गर्न सक्छन्। त्यसपछि युद्ध अन्त्य गर्नुपर्ने वा कङ्ग्रेसबाट औपचारिक अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।