सरकारसँग सहमति भएपछि रूबी खानले तोडिन् २३ दिन लामो अनशन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । अधिकारकर्मी रूबी खानले सरकारसँग ५ बुँदे सहमति भएपछि २३ दिनदेखिको अनशन अन्त्य गरेकी छन्। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्या सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै खान नेपालगन्जमा अनशनरत थिइन्।
सरकारका प्रतिनिधिहरूसँग लामो वार्तापछि सहमति बनेको हो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले उनलाई पानी खुवाएर अनशन तोडाएकी हुन्। वार्ता टोलीमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले पनि सहभागी थिए।
सहमति अनुसार निर्मला कुर्मीको मुद्दाको अनुसन्धान अध्ययन गरेर छिट्टै न्यायिक प्रक्रियामा अघि बढाइनेछ। त्यस्तै, खानले उठाएका अन्य घटनाको पनि थप छानबिन गरिने र कमजोरी देखिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही गरिने सरकारको प्रतिबद्धता छ।
खानविरुद्ध दर्ता भएको मुद्दाको अनुसन्धान पनि चाँडै टुंग्याउने सहमति भएको छ। साथै आन्दोलनमा सहभागी महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरीलाई आवश्यक निर्देशन दिने सहमति पनि भएको छ।







