संसद्को गरिमा जोगाउन रास्वपा प्रतिबद्ध रहेको रास्वपा सचेतक परियारको दावी

User Image Prime TV News ६ दिन अगाडि
Image of संसद्को गरिमा जोगाउन रास्वपा प्रतिबद्ध रहेको रास्वपा सचेतक परियारको दावी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक  प्रकाशचन्द्र परियारले संसद्को गरिमा र लोकतान्त्रिक मूल्य जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपा तर्कपूर्ण प्रश्नबाट नभाग्ने र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताए। “हामी संसद्को गरिमालाई सधैँ अक्षुण्ण राख्न प्रतिबद्ध छौँ । हामी तर्कशील प्रश्नबाट भाग्दैनौँ,” उनले भने।

परियारले संसद् नेपाली जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको उल्लेख गर्दै लोकतन्त्रप्रति आफ्नो गहिरो विश्वास रहेको बताए। उनले सरकार र प्रतिपक्ष दुवै पक्ष स्पष्ट र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए। “अस्तीलाई हिजोले प्रश्न गर्थ्यो, हिजोलाई आजले प्रश्न गर्छ र आजलाई भोलिले प्रश्न गर्नेछ,” उनले भने।

उनका अनुसार जनताले सधैँ प्रश्न मात्रै गरिरहनुपर्ने अवस्था अन्त्य गर्न सबै राजनीतिक दल मिलेर काम गर्नुपर्छ। परियारले वर्तमान सरकारलाई बलियो जनमतले बनेको सरकार भएको उल्लेख गर्दै विकास र समृद्धिका योजनामा अवरोध नगर्न आग्रह गरे।

साथै उनले आफू वैकल्पिक राजनीति र नवपरिवर्तनको प्रतिनिधिका रूपमा संसदमा रहेको बताउँदै जनताको पक्षमा काम गर्न तयार रहेको धारणा राखे।