कांग्रेसमा गुटको राजनीति सकिएको विश्वप्रकाश शर्माको दाबी

User Image Prime TV News ६ दिन अगाडि
Image of कांग्रेसमा गुटको राजनीति सकिएको विश्वप्रकाश शर्माको दाबी

बर्दिवास । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्र पुरानो गुटगत भागबन्डाको अभ्यास अब अन्त्य भएको बताएका छन्। मधेस प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै उनले ‘६०/४०’ को भागबन्डा अब इतिहासजस्तै बनिसकेको टिप्पणी गरे।

“६० र ४० को भागबन्डाको विषय अब दन्त्य कथा बनिसक्यो,” उनले भने। शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई पनि अहिले पार्टीका विभिन्न जिम्मेवारीमा समेटिएको बताए। उनका अनुसार केन्द्रीय समिति, संसदीय दल र भ्रातृ संस्थाहरूमा फरक धारका नेताहरूलाई अवसर दिइँदै आएको छ।

उनले पार्टी नेतृत्वले आफ्नो समूहका व्यक्तिलाई मात्र प्राथमिकता दिए पार्टी कमजोर बन्ने र विभाजन बढ्ने चेतावनी पनि दिए। साथै उनले पार्टीका नेता–कार्यकर्तालाई क्रियाशील सदस्यता अद्यावधिकमा सक्रिय हुन आग्रह गरे। “तपाईंको वडामा सदस्यता अद्यावधिक गर्न शीर्ष नेता होइन, वडा सभापतिको भूमिका मुख्य हुन्छ,” उनले भने।

संविधान संशोधनबारे बोल्दै शर्माले २०६२/६३ को जनआन्दोलन, माओवादी विद्रोह र मधेस आन्दोलनले स्थापित गरेका उपलब्धि कमजोर पार्न नहुने बताए। उनले अहिले संसदमा नरहेका मधेस केन्द्रित दलहरूको भावना पनि संविधान संशोधन प्रक्रियामा समेटिनुपर्ने धारणा राखे।