बालेन सरकार विरुद्ध कांग्रेस, एमाले र नेकपाबिच सहकार्यको तयारी

User Image Prime TV News ६ दिन अगाडि
Image of बालेन सरकार विरुद्ध कांग्रेस, एमाले र नेकपाबिच सहकार्यको तयारी

काठमाडौ । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी बिच नयाँ राजनीतिक सहकार्यको तयारी सुरु भएको छ। तीन दलले वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै संयुक्त रूपमा अघि बढ्ने विषयमा छलफल थालेका हुन्।

दलहरूका अनुसार सरकारका कामकारबाही संविधान र लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत जान थालेपछि सहकार्यको आवश्यकता महसुस गरिएको हो। यस विषयमा तीन दलका शीर्ष नेताहरूबीच लगातार औपचारिक र अनौपचारिक छलफल भइरहेको बताइएको छ।

केपी शर्मा ओलीले एमाले सचिवालय बैठकमा कांग्रेस र नेकपाका नेताहरूसँग सहकार्यबारे कुराकानी भइरहेको जानकारी गराएका थिए। एमाले नेता भानुभक्त ढकालका अनुसार संसद र सडक दुवै ठाउँमा सरकारका गतिविधिविरुद्ध एकजुट भएर जानुपर्नेमा सहमति बनिरहेको छ।

प्रदेश सरकारको नेतृत्व फेरबदल र नयाँ राजनीतिक समीकरणबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ। एमालेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीलाई दिन सकिने प्रस्ताव अघि सारेको बताइएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताएका छन्।

त्यस्तै नेकपाका नेता प्रकाश ज्वालाले पनि सरकारका गतिविधिले लोकतान्त्रिक उपलब्धिमाथि असर पारेको भन्दै सहकार्य आवश्यक रहेको बताएका छन्। तीन दलबीच अब संयुक्त बैठक गरेर सहकार्यको स्पष्ट मोडल बनाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।