संसद प्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार छौः हर्क साम्पाङ्
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन्
बुधबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गैरजिम्मेवार व्यवहारको विरोध निरन्तर रहने स्पष्ट पारे। उनका अनुसार सरकारलाई प्रश्न गर्न नदिनेगरी सभामुखले गरेको निर्णयप्रति पनि उनीहरूको आपत्ति छ।
“सरकारलाई प्रश्न गर्न नदिनेगरी सभामुखले गरेको रुलिङको हामी विरोध गर्छौं,” उनले भने।साम्पाङले सार्वभौम संसद र यसको विधि–विधानका लागि आवश्यक परे निलम्बन भोग्न पनि तयार रहेको बताए।
उनले सुकुम्वासी समस्या, लिपुलेक विषय र वैदेशिक ऋणजस्ता विषयमा सरकारसँग प्रश्न गर्न खोजिए पनि जवाफ नआएको आरोप लगाए। उनका अनुसार जनतासँग जोडिएका प्रश्नको उत्तर नदिने सरकारको मूल्याङ्कन अन्ततः जनताले नै गर्नेछन्। उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन्।







