निर्वाचन र मतदाता नामावली सम्बन्धी दुई विधेयक संसदमा दर्ता

User Image Prime TV News ६ दिन अगाडि
Image of निर्वाचन र मतदाता नामावली सम्बन्धी दुई विधेयक संसदमा दर्ता

काठमाडौ । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ संसदमा दर्ता गरेका हुन्। निर्वाचनसम्बन्धी विधेयक प्रधानमन्त्रीको हैसियतमा दर्ता गरिएको हो भने मतदाता नामावलीसम्बन्धी विधेयक गृह मन्त्रालयमार्फत अघि बढाइएको बताइएको छ।

विधेयकमा समानुपातिक निर्वाचन प्रणालीमा जनसंख्याको आधारमा समुदायगत प्रतिनिधित्व पुनः समायोजन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। २०७८ सालको जनगणनालाई आधार मानेर दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसंख्याको अनुपातअनुसार बन्दसूची प्रणालीमा प्रतिनिधित्व मिलाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

सरकारले यसलाई निर्वाचन प्रणालीलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउन ल्याइएको बताएको छ। त्यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयकमा यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिने व्यवस्था गरिएको छ। आगामी निर्वाचनमा छुटेका मतदातालाई समावेश गर्न अध्यादेशमार्फत गरिएको व्यवस्था स्थायी रूपमा लागू गर्नुपर्ने आवश्यकताका आधारमा विधेयक अघि सारिएको सरकारको भनाइ छ।