१२ दिनपछि प्रधानन्यायाधीश शर्मा इजलासमा फर्किए, सर्वोच्चमा नियमित सुनुवाइ सुरु

User Image Prime TV News ६ दिन अगाडि
Image of १२ दिनपछि प्रधानन्यायाधीश शर्मा इजलासमा फर्किए, सर्वोच्चमा नियमित सुनुवाइ सुरु

काठमाडौ । प्रधानन्यायाधीशमा नियुक्त भएपछि केही दिन इजलासमा अनुपस्थित रहेका मनोजकुमार शर्मा १२ दिनपछि सर्वोच्च अदालतको इजलासमा फर्किएका छन्।

मंगलबार प्रधानन्यायाधीशको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेपछि उनी बुधबारदेखि इजलासमा बसेर मुद्दा सुनुवाइमा सहभागी भएका हुन्। बुधबार उनले न्यायाधीश श्रीकान्त पौडेल सँग संयुक्त इजलासमा सुनुवाइ गरेका छन्।

सर्वोच्च अदालतका अनुसार बुधबार शर्मासहितको इजलासमा ३२ वटा मुद्दा पेशी तोकिएको थियो। तीमध्ये ६ वटा रिट निवेदनको सुनुवाइ सम्पन्न भएको छ। यसअघि वैशाख २४ गते उनी प्रधानन्यायाधीशमा सिफारिस भएपछि इजलासमा सहभागी हुने क्रममा सामान्य असहमति भएपछि केही समय न्यायिक कामबाट टाढा रहेका थिए।

त्यसपछि नियुक्ति प्रक्रिया टुंगिनुअघि उनी नियमित सुनुवाइमा सहभागी भएका थिएनन्। उनी इजलासमा फर्किएसँगै सर्वोच्चमा नियमित सुनुवाइ प्रक्रिया पुनः सक्रिय बनेको छ। यसैबीच, सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी छन्। उनले बिदा स्वीकृत गराएर विदामा गएकी हुन्।