रास्वपाले महाधिवेशन केन्द्रित अभियान तीव्र बनायो, नेताहरू जिल्ला–जिल्लामा खटाइए

User Image Prime TV News ६ दिन अगाडि
Image of रास्वपाले महाधिवेशन केन्द्रित अभियान तीव्र बनायो, नेताहरू जिल्ला–जिल्लामा खटाइए

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई केन्द्रमा राख्दै देशभर संगठन विस्तार अभियान तीव्र बनाएको छ। पार्टीले वडा, पालिका र जिल्लास्तरका भेला तथा अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिल्लामा खटाएको हो।

आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको रास्वपाले त्यसअघि सबै तहका संरचनाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। पार्टीका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद तथा विभिन्न विभागका नेताहरूलाई समन्वयका लागि विभिन्न जिल्लामा जिम्मेवारी दिइएको छ।

उनीहरूले स्थानीय तहमा भेला बोलाउने, तदर्थ समिति गठन गर्ने र अधिवेशन प्रक्रिया सहज बनाउने काम गर्नेछन्। वडा तहका केही स्थानमा भेला र अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन् भने बाँकी वडामा क्रमशः प्रक्रिया अघि बढाइँदैछ। पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनका लागि पनि अलग–अलग मिति तय गरिएको छ।

कार्यतालिका अनुसार पालिका भेला जेठ ९ गते, पालिका अधिवेशन जेठ १० र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछन्। पार्टीले वडा र पालिका तहमा ३० प्रतिशत अधिवेशन भए पनि माथिल्लो तहका अधिवेशन अघि बढाउन सकिने व्यवस्था गरेको छ।

प्रतिनिधि छनोटमा अधिकांश सांसदलाई आफ्नै जिल्लामा खटाइएको छ भने केही शीर्ष नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ। मन्त्रीहरूलाई भने महाधिवेशनको काममा नलगाइएको पार्टी स्रोतले जनाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, प्रवक्ता मनिष झालाई धनुषा, सहप्रवक्ता रमेश प्रसाईलाई ताप्लेजुङ र सांसद रञ्जु दर्शनलाई काठमाडौं जिल्लामा प्रतिनिधिका रूपमा खटाइएको छ।