संसदमा सत्तापक्षको व्यवहार अमानवीय भएको एमाले सांसदको आरोप
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरूबाट आफूहरूलाई बारम्बार अमानवीय र अशिष्ट व्यवहार भइरहेको आरोप लगाएकी छन्। बुधबारको बैठकमा बोल्दै उनले पुराना राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेर अपमानजनक व्यवहार भइरहेको गुनासो गरिन्।
उनले भनिन्, “पुराना दलहरूलाई घरिघरी अशिष्ट व्यवहार, अमानवीय व्यवहार गरिरहनुभएको छ।” बरालले आफूहरू विवाद गर्न नभई जनताको आवाज संसदमा प्रस्तुत गर्न आएको स्पष्ट पारिन्। “हामी वादविवाद गर्न आएका होइनौँ। तपाई बसेको र हाम्रो कुर्सी बराबर हो। २७५ जनताको आवाज बोल्न आएका हौँ,” उनले भनिन्।
उनले केही सांसदहरूले ‘पुराना सांसदले केही गरेनन्’ र ‘सदन गन्हायो’ जस्ता अभिव्यक्ति दिएको भन्दै ती शब्द संसद् रेकर्डबाट हटाउन माग गरिन्। साथै उनले सभामुखले सत्तापक्षका सांसदले बोलेका विवादास्पद शब्दमा समान रूपमा ध्यान नदिएको आरोप पनि लगाइन्। “विपक्षीले बोलेको शब्दमा तुरुन्त ध्यानकर्षण हुन्छ, तर सत्तापक्षका कुरा बेवास्ता हुन्छ,” बरालले भनिन्।







