राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै, तरलता व्यवस्थापनका लागि बोलकबोल

User Image Prime TV News ६ दिन अगाडि
Image of राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै, तरलता व्यवस्थापनका लागि बोलकबोल

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। राष्ट्र बैंकले मध्यान्ह ३ बजे बोलकबोल (अक्सन) मार्फत वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट ९१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

यस प्रक्रियामा बैंकहरूले आफूले दिन चाहेको ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिइने व्यवस्था छ। राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणांकमा कुल ३० अर्ब रुपैयाँसम्मको प्रस्ताव स्वीकार गर्ने जनाएको छ।

हाल बैंकिङ प्रणालीमा कर्जाको माग कम हुँदा धेरै पैसा थुप्रिएको छ। यही कारण राष्ट्र बैंकले नियमित रूपमा यस्ता तरलता व्यवस्थापन उपकरण प्रयोग गर्दै आएको हो। यसरी संकलन गरिएको रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ। ९१ दिनपछि अर्थात् आगामी भदौ ३ गते राष्ट्र बैंकले सावाँ र ब्याज फिर्ता गर्नेछ।