संसद् बैठकमा श्रम संस्कृति पार्टीको निरन्तर विरोध, सभामुखको चेतावनी
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेको छ।
बैठक सुरु हुनेबित्तिकै पार्टीका सांसदहरू आफ्ना स्थानबाट उठेर पर्चा प्रदर्शन गर्दै विरोधमा उत्रिएका थिए। उनीहरूले विभिन्न नारासहितका पर्चा पढेर सदनमा आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्। सदनको वातावरण अव्यवस्थित बन्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम गर्न आग्रह गरे।
उनले संसद् नियमावलीको नियम ३० उल्लेख गर्दै सांसदहरूलाई आफ्नो गतिविधि र व्यवहार सच्याउन चेतावनीसमेत दिए। सभामुख अर्यालले संसद् सञ्चालनमा अवरोध नगर्न र लोकतान्त्रिक प्रक्रियाभित्र रहेर आफ्ना धारणा राख्न आग्रह गरेका थिए।
श्रम संस्कृति पार्टीले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक तथा नीतिगत विषय उठाउँदै सदनमा लगातार विरोध जनाउँदै आएको छ। तर, पार्टीले बुधबारको विरोधको मुख्य कारणबारे औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरेको छैन।







