सुनचाँदी बजारमा फेरि उतारचढाव, आज सुन तोलामा ३३ सय रुपैयाँ घट्यो

User Image Prime TV News ६ दिन अगाडि
Image of सुनचाँदी बजारमा फेरि उतारचढाव, आज सुन तोलामा ३३ सय रुपैयाँ घट्यो

काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उतारचढाव देखिएको छ। लगातार दुई दिन बढेको सुनको भाउ बुधबार भने उल्लेख्य रूपमा घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यसअघि सोमबार सुनको भाउ ८ सय रुपैयाँले बढेको थियो भने मंगलबार थप ५ सय रुपैयाँ वृद्धि भएको थियो। तर, पछिल्लो गिरावटसँगै बजार फेरि अस्थिर बनेको व्यवसायीहरू बताउँछन्। चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन चाँदी ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो। यस वर्ष माघ महिनामा सुन र चाँदी दुवैले ऐतिहासिक मूल्य कायम गरेका थिए। माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारको अहिलेसम्मकै उच्च मूल्य हो।

त्यसैदिन चाँदी पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर नयाँ रेकर्डमा पुगेको थियो। तर, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घट्दा बजारमा ठूलो हलचल देखिएको थियो। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य परिवर्तन, अमेरिकी डलरको उतारचढाव र लगानीकर्ताको मनोविज्ञानका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ।