रास्वपा सांसद धनन्जय रेग्मीको सरकारलाई प्रश्नः सुगौली सन्धिमा के रहेछ ? पढ्न पाएनौं, त्यसको कपी कहाँ छ ?
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनन्जय रेग्मीले नेपाल–भारत सीमा विवादसँग जोडिएको सुगौली सन्धिको आधिकारिक प्रति सहज रूपमा उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को बैठकमा बोल्दै उनले सीमा समस्याबारे स्पष्ट बुझाइ बनाउन सुगौली सन्धिको अध्ययन आवश्यक रहेको बताए। “बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? पढ्न पाएनौं । त्यसको कपी कहाँ छ ? पढ्न पाए थाहा लाग्दथ्यो,” उनले बैठकमा भने।
बैठकमा उपस्थित शिशिर खनाल समक्ष उनले नेपालमा ‘रिसर्चर भिसा’ व्यवस्था लागू गर्न पहल गर्न पनि आग्रह गरे। विदेशी अनुसन्धानकर्ताहरू अहिले पर्यटक भिसामा नेपाल आउने गरेको उल्लेख गर्दै उनले अनुसन्धानका लागि छुट्टै भिसा व्यवस्था आवश्यक रहेको बताए।
“रिसर्चर भिसाले अनुसन्धानकर्तालाई सम्मान मिल्छ, साथै नेपालमा अध्ययन र अनुसन्धानको वातावरण पनि मजबुत हुन्छ,” उनले धारणा राखे। सांसद रेग्मीले विदेशमा रहेका नेपालीहरूको वास्तविक अवस्था, विद्यार्थी पलायन र विदेशिएको रकमको विवरणबारे सरकारसँग एकीकृत तथ्यांक हुनुपर्ने आवश्यकता पनि औंल्याए।
उनले भने, “एनआरएन कति छन्, कति विद्यार्थी विदेश गएका छन्, कुन च्यानलबाट कति पैसा बाहिरिएको छ भन्ने तथ्यांक बिना दीर्घकालीन नीति बनाउन सकिँदैन।” उनको भनाइमा सरकारले रेमिटेन्स भित्रिएको तथ्यांकमा मात्र ध्यान दिएको तर बाहिरिएको पूँजी र जनशक्तिको अवस्थाबारे पर्याप्त अध्ययन नगरेको संकेत देखिन्छ।
समितिको बैठकमा हाल परराष्ट्र मन्त्रालय को नीति, योजना तथा चालु कार्यक्रममाथि छलफल भइरहेको छ।







