नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि तरंग, सपना प्रधान मल्ल २० दिन बिदामा
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीस सपना प्रधान मल्ल नयाँ प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै २० दिनको बिदामा बसेकी छन्।
सर्वोच्च अदालत स्रोतका अनुसार उनले मंगलबारदेखि लागू हुने गरी बिदा स्वीकृत गराएकी हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले मल्ल बिदामा गएको पुष्टि गर्दै उनी आफैं कायममुकायम प्रधानन्यायाधीश रहेका बेला बिदा स्वीकृत गराएको जानकारी दिए।
सर्वोच्च अदालतमा वरीयताको पहिलो स्थानमा रहेकी मल्ल, दोस्रो वरीयताका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरीयताका हरिप्रसाद फुयाललाई पछि पार्दै चौथो वरीयतामा रहेका मनोशकुमार शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायालयभित्र असन्तुष्टि देखिएको हो।
शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। तर, शपथपछि सर्वोच्च अदालतमा आयोजित स्वागत कार्यक्रममा सपना प्रधान मल्ल उपस्थित भइनन्। उनको अनुपस्थितिमा न्यायाधीश कुमार रेग्मीले नयाँ प्रधानन्यायाधीश शर्मालाई स्वागत गरेका थिए।
न्यायपालिकाभित्र वरिष्ठताको परम्परा र नियुक्ति प्रक्रियालाई लिएर यस घटनाले नयाँ बहस सुरु गरेको छ। कानुन व्यवसायी तथा न्याय क्षेत्रका जानकारहरूले यसलाई सर्वोच्च अदालतभित्रको संस्थागत सन्देशका रूपमा पनि व्याख्या गर्न थालेका छन्।







