दशैंको टीका जमरा लगाउने क्रम आजपनि जारी

User Image Prime TV News एक महिना अगाडि
Image of दशैंको टीका जमरा लगाउने क्रम आजपनि जारी

काठमाडौ । नेपाली समाजमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म मनाइने दशैं पर्व भव्यरूपमा चलिरहेको छ।

दशमीको दिन नजिकका परिवार र मान्यजनबाट टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि, टाढा रहेका आफन्तहरूले कोजाग्रत पूर्णिमासम्म टीका जमरा लगाउने परम्परा निर्वाध रूपमा जारी राख्दै आएका छन्।

परम्पराअनुसार, आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक पूजा कोठामा दशैंको घडाको स्थापना गरी अभिषेक पश्चात टीका र जमरा लगाउन सुरु गरिन्छ।

विजयादशमीका दिन देवी विसर्जन भएपछिको बिहान टीका जमरा लगाउने क्रम प्रचलित भए पनि पूर्वी र मध्य नेपालको धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका जमरा लगाउने चलन छ।

पश्चिम नेपालका केही क्षेत्रहरूमा मात्र विजयादशमीको दिन टीका लगाउने चलन छ भने पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका जमरा लगाउने प्रचलन छ । 

यसैबीच, आज आश्विन शुक्ल एकादशी पापाङ्कुशा एकादशीका रूपमा पनि मनाइँदैछ। धार्मिक विश्वास अनुसार, एकादशीका दिन व्रत बसेर विगतमा गरिएका पापहरूमा अंकुश लाग्ने विश्वास छ। यस दिन व्रत बस्नेहरूले आफ्नो जीवनमा शुद्धता र पुण्य प्राप्त गर्ने आशा राख्दछन्।