डा. मनोज शर्मामाथि आजदेखि संसदीय सुनुवाइ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा माथि आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ। यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बस्ने तय भएको छ।
संघीय संसदको विधायन व्यवस्थापन समितिको सभाकक्षमा हुने बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोलिने र सुनुवाइको कार्यतालिका तय गरिनेछ। समितिका अनुसार उनीमाथि सात वटा उजुरी परेको छ।
गत २४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनी सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश हुन्। संसदीय सुनुवाइ पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ।
तर वरियता मिचेर सिफारिस गरिएको भन्दै निर्णयको विरोध भइरहेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित केही न्यायाधीश र कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले न्यायपालिकाको परम्परा कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।







