सर्वोच्चमा रिट दर्ता विवाद चर्कियो, कानुन व्यवसायी फेरि पुगे कामु प्रधानन्यायाधीशकहाँ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सर्वोच्चमा रिट दर्ता विवाद चर्कियो, कानुन व्यवसायी फेरि पुगे कामु प्रधानन्यायाधीशकहाँ

काठमाडौ । सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका रिट दर्ता गर्ने विषयमा विवाद झन् चर्किएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश दिएपछि पनि प्रशासनले कार्यान्वयन नगरेको भन्दै नेपाल बार एसोसियसनका पदाधिकारीसहित कानुन व्यवसायीहरू फेरि सर्वोच्च पुगेका छन्।

सोमबार कामु प्रधानन्यायाधीश मल्लले दिउँसो १ बजेसम्म सबै रिट र दरपीठविरुद्धका निवेदन दर्ता गरी मंगलबारका लागि पेशी तोक्न निर्देशन दिएकी थिइन्। तर त्यसपछि सर्वोच्चका केही कर्मचारी कार्यकक्ष छाडेर बाहिरिएको बताइएको छ।

रिट दर्ता गर्न पुगेका निवेदकहरूले प्रशासनमा कर्मचारी नभेटेपछि नेपाल बारलाई जानकारी गराएका थिए। त्यसपछि बारका पदाधिकारीहरू निवेदकसहित सर्वोच्च पुगेका हुन्। बारका महासचिव केदार कोइरालाले अदालतको आदेश कार्यान्वयन नभएको विषयमा कामु प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको बताए।

उनका अनुसार कानुन व्यवसायीहरूले न्यायालयमा यस्तो अवरोध पहिले कहिल्यै नदेखिएको भन्दै असन्तुष्टि जनाएका थिए। नेपाल बारले अहिलेको अवस्थाबारे थप छलफल गर्न आकस्मिक बैठक पनि बोलाएको जनाएको छ।