जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न संसदमा माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ। सोमबारको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अझै सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भदौ २३ र २४ गते भएको हिंसा र विध्वंसको घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे। साथै, उक्त प्रतिवेदन सबै सांसदलाई उपलब्ध गराउन पनि सरकारलाई आग्रह गरे।
नेता केसीले आयोगका प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्नु उचित नभएको बताए। उनले यस्ता प्रतिवेदन कार्यान्वयनमा पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे। संसदमा अन्य सांसदहरूले पनि आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।






