अविरल वर्षा र पहिरोले कोशी–बागमती प्रदेशका पाँच स्थानमा सडक अवरुद्ध
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लगातारको वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका पाँच स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका प्रमुख सडकखण्डमा आवागमन ठप्प भएको छ।
संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ को बरुण र मकालु गाउँपालिका–३ को एकुवा क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अबरुद्ध भएको छ। ती क्षेत्रहरूमा सडक सम्पर्क विच्छेद भएपछि स्थानीय बासिन्दा र यात्रुहरू ठूलो सास्तीमा परेका छन्।
उता, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा दुई स्थानमा सडक अबरुद्ध भएको छ। नेपाल–चीन नाका जोड्ने सडक खण्डमा बाढीले पुलनजिकैको भाग बगाएको छ भने पासाङ ल्हामु राजमार्गको अर्को खण्डमा असोज १६ गते गएको पहिरोले यातायात अवरुद्ध बनाएको हो। नेपाल–चीन सीमा क्षेत्रमा असार २४ गतेदेखि नै बाढीका कारण सडक सञ्जाल प्रभावित भएको प्रहरीको भनाइ छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित चारकिलो भन्ने स्थानमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। यो राजमार्ग काठमाडौंलाई तातोपानी नाकासँग जोड्ने महत्वपूर्ण सडक मार्ग हो।
प्रहरीका अनुसार सम्बन्धित स्थानहरूमा डोजर र प्राविधिक टोली खटाइएका छन्। तर निरन्तर वर्षा भइरहेकाले सडक खुलाउने काममा ढिलाइ भइरहेको जनाइएको छ।













