मन्त्री अनुपस्थित भए पनि समितिको बैठक चलाउन नयाँ नियमको तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मन्त्री अनुपस्थित भए पनि समितिको बैठक चलाउन नयाँ नियमको तयारी

काठमाडौ । प्रतिनिधिसभाले मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था सहित नयाँ नियमावली ल्याउन लागेको छ। सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यसूची रहेको छ।

नयाँ मस्यौदामा समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था परिवर्तन गरिएको छ। प्रस्तावित नियमअनुसार विधेयकमाथिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। तर अन्य विषयमा हुने छलफलमा भने आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था राखिएको छ।

हाल कायम रहेको प्रतिनिधिसभा नियमावली २०७९ अनुसार समितिका सबै बैठकमा मन्त्री उपस्थित हुनैपर्ने प्रावधान छ। मन्त्रीको समय नमिल्दा धेरै पटक समितिका बैठक स्थगित हुने समस्या देखिएको थियो। नयाँ व्यवस्थाले यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ।

मन्त्री नभए पनि अन्य कार्यसूचीमा समितिले नियमित रूपमा बैठक सञ्चालन गर्न सक्ने भएकाले संसदीय कामकारबाही प्रभावकारी बन्ने विश्वास गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले समितिको कामलाई सहज र व्यवस्थित बनाउन नियमावली संशोधन आवश्यक रहेको बताएका छन्।