प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस हुँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गर्ने तयारी गरेको छ।
संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछिन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आजको बैठकपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि संघीय संसद्मा प्रस्तुत गरिने कार्यतालिका रहेको छ।







