कर्णालीमा कांग्रेसको प्रदेशस्तरीय भेला आज
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा संगठन सुदृढीकरण र स्थानीय तहसँगको समन्वयलाई केन्द्रमा राख्दै आजदेखि दुई दिने प्रदेशस्तरीय भेला आयोजना गरेको छ। जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार भेलाको उद्घाटन कांग्रेसका सभापति गगनकुमार थापाले गर्नेछन्।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेलको पनि सहभागिता रहने जनाइएको छ। प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्तालाई एकै ठाउँमा ल्याएर संगठनात्मक गतिविधि, आगामी रणनीति र जनसम्पर्क विस्तारका विषयमा छलफल गर्ने उद्देश्यले कांग्रेसले देशव्यापी रूपमा यस्ता भेलाहरू सञ्चालन गरिरहेको जनाएको छ।
यसअघि पार्टीले गत २६ र २७ वैशाखमा धनगढीमा प्रदेशस्तरीय भेला गरिसकेको छ। त्यसैगरी आगामी दिनमा अन्य प्रदेशहरूमा पनि भेला आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। कार्यक्रमअनुसार ३१ वैशाख र १ जेठमा पोखरामा गण्डकी प्रदेश भेला, ४ र ५ जेठमा धुलिखेलमा बागमती प्रदेश भेला आयोजना हुनेछ।
यस्तै, ६ र ७ जेठमा बर्दिवास मा मधेश प्रदेश, ८ र ९ जेठमा लौकी माकोशी प्रदेश तथा १४ र १५ जेठमा तिलोत्तमा मा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरिने कांग्रेसले जनाएको छ।







