सरकारले सुरु गर्‍यो ‘सरसफाइ सप्ताह २०८३’, सबै सरकारी निकायलाई सक्रिय हुन निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले सुरु गर्‍यो ‘सरसफाइ सप्ताह २०८३’, सबै सरकारी निकायलाई सक्रिय हुन निर्देशन

काठमाडौ । सरकारले आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन अभियान सुरु गरिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो।

अभियानको औपचारिक उद्घाटन सोमबार बिहान वीर अस्पतालमा हुने तय भएको छ। कार्यक्रममा  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेता सहभागी हुने बताइएको छ।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी कार्यालयहरूमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन र स्वच्छ वातावरण सुनिश्चित गरिनेछ।

मार्गदर्शनमा सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्न स्पष्ट राख्नुपर्ने उल्लेख छ। चर्किएका भित्ताहरू मर्मत गर्ने, कार्यालय परिसर सफा राख्ने र सेवा क्षेत्र आकर्षक बनाउने व्यवस्था पनि गरिएको छ।

त्यस्तै सबै शौचालय दुर्गन्धरहित बनाउनुपर्ने, नियमित पानी र साबुनको व्यवस्था गर्नुपर्ने तथा महिलामैत्री र अपाङ्गतामैत्री सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

सरकारी कार्यालयहरूले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेछ। खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यालय आसपासको नाली, ढल र पार्किङ क्षेत्र पनि सफा राख्नुपर्ने मापदण्ड बनाइएको छ।

सेवाग्राहीलाई सहज सेवा दिन ‘हेल्प डेस्क’ राख्ने र सूचना प्रणाली प्रभावकारी बनाउने व्यवस्था पनि मार्गदर्शनमा समावेश गरिएको छ।

अभियानलाई प्रभावकारी बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोकिनेछ। साथै हरेक हप्ता सरसफाइको समीक्षा र मासिक स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ।