आजदेखि संसद्को बजेट अधिवेशन सुरु, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त बैठकअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक पनि बस्नेछन्। प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। साथै मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी पनि सदनलाई गराइने सम्भावित कार्यसूची रहेको छ। यसपटकको अधिवेशनमा सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि संसद्मा पेस गरिने भएका छन्। सार्वजनिक खरिद, संवैधानिक परिषद् र सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेशहरू दुवै सदनमा प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुन सांसदहरूलाई अपराह्न ३:४५ बजाभित्र उपस्थित हुन आग्रह गरेको छ।







