निर्मल लामाले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएका थिए : मोहनविक्रम सिंह

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्मल लामाले कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएका थिए : मोहनविक्रम सिंह

काठमाडौ ।  नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले दिवंगत वामपन्थी नेता निर्मल लामाले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएको बताएका छन्। २६औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले लामाको निधनले वामपन्थी र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताए।

उनले आफू र निर्मल लामाबीच मतभेद भए पनि घनिष्ठ सम्बन्ध रहेको बताए। सिंहका अनुसार विभिन्न राजनीतिक आन्दोलन र पार्टी एकताका प्रयासमा उनीहरू सँगै काम गरेका थिए। सिंहले २०२५ सालपछि कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन लामाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले संविधानसभाको पक्षमा पनि लामाको विशेष योगदान रहेको बताए।

उनले पञ्चायती चुनाव र नेपाली कांग्रेसलाई हेर्ने विषयमा आफूहरूबीच गम्भीर मतभेद रहेको स्मरण गरे। सिंहले २०४० सालमा पार्टी विभाजन हुँदा वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको पनि बताए। उनले लामाको अन्तिम समयसम्म पनि आफूहरूबीच राम्रो सम्बन्ध कायम रहेको उल्लेख गरे।