सरकारले ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने, बजारमा मूल्यसूची अनिवार्य राख्न आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने, बजारमा मूल्यसूची अनिवार्य राख्न आग्रह

काठमाडौ । सरकारले उपभोक्तालाई सही मूल्य जानकारी उपलब्ध गराउने र बजारमा पारदर्शिता बढाउने उद्देश्यले ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ देखि जेठ ३ गतेसम्म देशभर यो सप्ताह मनाउने निर्णय गरेको हो।

मन्त्रालयले मूल्य पारदर्शिता कायम गर्न विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्ने जनाएको छ। यसका लागि उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, महिला उद्यमी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग तथा व्यवसायी महासंघलाई पत्राचार गरिएको छ।

सप्ताह अवधिमा उद्योग, आयातकर्ता, आपूर्तिकर्ता तथा खुद्रा व्यापारीलाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको मूल्यसूची सबैले देख्ने गरी अनिवार्य रूपमा राख्न आग्रह गरिएको छ। सरकारका अनुसार यो अभियानले बजारमा पारदर्शिता बढाउने र उपभोक्तालाई वास्तविक मूल्यबारे जानकारी दिलाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।