फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प, २९ जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फिलिपिन्सको केन्द्रिय क्षेत्रमा स्थानीय समय अनुसार राति १० बजे शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको परिमाण ६.९ म्याग्निच्यूड मापन गरिएको छ।
भूकम्पको केन्द्रविन्दु सेबु प्रान्तको उत्तर–पूर्वी क्षेत्रमा रहेको बताइएको छ। बिबिसी लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले हालसम्म भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
भूकम्पले स्थानीय घरहरू, विद्यालय, अस्पताल तथा अन्य पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ। केही भवनहरू पूर्णरूपमा भत्किएका छन् भने दर्जनौँ घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याइएको छ।
सुरुवातमा समुद्र तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर केही घण्टापछि त्यो चेतावनी फिर्ता लिइएको अधिकारीहरूले जनाएका छन्।
हाल उद्धार तथा खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। सेना, प्रहरी, आपतकालीन सेवा निकाय र स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित छन्। क्षतिको वास्तविक आँकलन अझै भइरहेको छ, र मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
फिलिपिन्स पृथ्वीको 'रिङ अफ फायर' क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटको जोखिम रहन्छ। यसअघि पनि देशमा विभिन्न विनाशकारी भूकम्पहरू आइरहेका छन्।
सरकारले स्थानीय जनतालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै भूकम्पपछिका पराकम्पनहरूबाट सतर्क रहन सुझाव दिएको छ।













