प्रधानन्यायाधीश नियुक्तिबारे खुश्बु ओलीको असन्तुष्टि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर सरकारको आलोचना गरेकी छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सुधारको नाममा राज्यका संस्थाहरू व्यक्ति केन्द्रित बनाइँदै गएको बताइन्।
स्थापित प्रक्रिया र संस्थागत मर्यादालाई कमजोर बनाउने काम भइरहेको उनको आरोप छ। ओलीले वरिष्ठता भनेको केवल उमेर वा रोलक्रम मात्र नभई अनुभव, कार्यसम्पादन, निर्णय क्षमता र संस्थाप्रतिको विश्वाससँग जोडिएको विषय भएको उल्लेख गरिन्।
उनले वरिष्ठताको क्रम मिचेर चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै यसले संवैधानिक नियुक्तिमा गलत नजिर स्थापित गरेको बताइन्। सरकारले विधि र प्रक्रिया पालन गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा त्यसविपरीत काम गरेको ओलीको टिप्पणी छ।
उनले यस्तो कदमले राज्य प्रणालीमा अधिनायकवादी प्रवृत्ति बढ्दै गएको सन्देश दिएको दाबी गरेकी छन्।







